LIVE NEWS

सातौँ डुमरवाना थारु माघी महोत्सव २०८२ भव्य रूपमा सञ्चालन, स्थानीयको उत्साहजनक सहभागिता

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१५ स्थित डुमरवाना चारपाते खेल मैदानमा सातौँ डुमरवाना थारु माघी महोत्सव २०८२ भव्य रूपमा सञ्चालन भइरहेको छ। दुई दिनसम्म चल्ने यस महोत्सवमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको छ।

महोत्सवको उद्घाटन शुक्रबार मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले गरेका थिए भने समापन कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले गर्ने कार्यक्रम रहेको छ।

महोत्सवमा थारु समुदायको मौलिक संस्कृति झल्किने भेषभूषा, परम्परागत औजार तथा कृषि जीवनशैलीलाई प्रतिविम्बित गर्ने सामग्रीहरूको आकर्षक प्रदर्शनी गरिएको छ। कृषिसँग सम्बन्धित हलो, कुटो, कोदालो, जातो, माछा मार्ने जालीलगायत सामग्रीहरू प्रदर्शनीमा राखिएका छन्।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा थारु समुदायको सांस्कृतिक झाँकी, परम्परागत नृत्य तथा माघी पर्वमा खाने विभिन्न परिकारहरूको प्रदर्शनी गरिएको छ। थारु समुदाय भूमिपुत्र भई कृषि पेशामा आधारित जीवनशैली अपनाउँदै आएको सन्देश दिन ‘थारु संस्कृति जोगाऔँ, आफ्नो पहिचान बचाऔँ’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।

उद्घाटन समारोहमा थारु समुदायका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो। साथै, विभिन्न राष्ट्रिय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले महोत्सवलाई थप जीवन्त बनाएको छ, जसलाई हजारौँ दर्शकहरूले अवलोकन गरेका छन्।

आज हुने समापन कार्यक्रममा पनि विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति तथा थारु संस्कृतिलाई झल्काउने झाँकी प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन्।

यस प्रकारका सांस्कृतिक महोत्सवहरूले थारु समुदायको मौलिक पहिचान र संस्कृतिको संरक्षण गर्नुका साथै प्राकृतिक र परम्परागत कृषि प्रणालीको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमा सहभागी किसानहरूले यस्ता कार्यक्रमले आफूहरूलाई हौसला र प्रेरणा प्रदान गर्ने बताएका छन्।

टिप्पणी
सम्बंधित खबर
ताजा खबर