LIVE NEWS

रसुवामा बाढीले बगाउँदा एक जनाको मृत्यु, दर्जन बढी बेपत्ता

रसुवा – रसुवागढी क्षेत्रमा सोमबार बिहान आएको भीषण बाढीले चीन–नेपाल सीमावर्ती क्षेत्रलाई अकल्पनीय क्षति पु-याएको छ।

गोसाइँकुण्ड गाउँपालिका-२ स्थित लिङ्दे खोलामा चीनतर्फबाट आएको बाढीका कारण नेपाल–चीनको मुख्य नाका रसुवागढीमा भौतिक संरचना ध्वस्त पारेको छ।

स्थानीय समय अनुसार सोमबार बिहान करिब ३ बजे गोसाइकुण्ड गाउँपालिका–२ को रसुवागढी नजिकैको खोलामा ठूलो बाढी आएको थियो।

एक घण्टाभित्रै बिहान ४ बजेतिर बाढीले नेपाल र चीन जोड्ने ‘मितेरी पुल’ पूर्ण रूपमा बगायो। सो पुल नै मुख्य नाका भएकाले रसुवाबाट चीनतर्फ हुने आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।

बाढीले गर्दा हालसम्म ९ जना सम्पर्कविहीन छन्। तीमध्ये ३ जना नेपाल प्रहरीका कर्मचारी रहेको गृह मन्त्रालयले जनाएको छ।

बेपत्ता प्रहरीमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी जवान लोकेन्द्र बोहरा रहेका छन्।

त्यस्तै, ६ जना चिनियाँ नागरिक हराइरहेको गृह मन्त्रालयले मंगलबार साँझ जनाएको छ।

हराइरहेकाहरूमा नेपाली सर्वसाधारण पनि परेका छन्। तीमध्ये सवारी चालक, मजदुर र व्यवसायी छन्। बेपत्तामा सवारी चालक गोविन्द बोक्ताम, लोकमान लामाङ, लक्ष्मीनारायण सारु, नरेन्द्र विक रहेका छन्।

बाढीले खतरामा परेकामध्ये ११ जनाको सकुशल उद्धार गरिएको छ। तीमध्ये भन्सार कार्यालयनजिकै फसेका ९ जना र नुवाकोटको इन्द्रेणीघाटमा फसेका दुई जना रहेका छन्।

नेपाली सेनाको हेलिकोप्टरले दुई जना वृद्ध दम्पतीको उद्धार इन्द्रेणीघाटबाट गरिएको थियो।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाएको छ। रसुवागढी जलविद्युत आयोजनाको ड्याम क्षतिग्रस्त बनेको छ। इलेक्ट्रिक भेइकल चार्जिङ स्टेशनहरू, रसुवागढी भन्सार यार्ड क्षतिग्रस्त बनाएको छ।

बाढीले चिनियाँ कम्पनी ‘त्रिशुली थ्री बी हब स्टेशन’का सबस्टेशन, ट्रान्सफर टावर, वाल संरचना पूर्ण रूपमा ध्वस्त बनाएको छ।

बाढीले नेपालतर्फ मात्र होइन, चीनको सीमा क्षेत्रमा पनि व्यापक क्षति पुर्‍याएको छ। चीनतर्फ रहेका केही नेपाली कामदारहरूलाई हेलिकप्टरमार्फत नेपाल ल्याउने तयारी भइरहेको छ। उद्धार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको छ।

रसुवा उत्तरगया गाउँपालिका-५ स्थित उत्तरगयाधामको खोला किनारमा एक पुरुषको शव फेला परेको छ।

टिप्पणी
सम्बंधित खबर