LIVE NEWS

पेट्रोलियम ढुवानीमा नयाँ युगको तयारी,अमलेखगञ्ज–लोथर पाइपलाइन निर्माण अघि बढ्दै

जीतपुर । नेपालको पेट्रोलियम आपूर्ति प्रणालीलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित अघि सारिएको अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन आयोजना निर्माणको चरणमा प्रवेश गरेको छ। बहुप्रतीक्षित यो परियोजना कार्यान्वयनमा जाँदा प्रभावित क्षेत्रका स्थानीयवासीका सुझाव र चासोलाई समेत समेट्ने प्रक्रिया सुरु गरिएको छ।

नेपाल आयल निगमका अनुसार बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६०.२४१ किलोमिटर लम्बाइमा पाइपलाइन बिछ्याइनेछ। परियोजनाले हाल ट्यांकरमार्फत भइरहेको पेट्रोलियम ढुवानीलाई क्रमशः प्रतिस्थापन गर्दै सुरक्षित, छिटो र कम लागतको आपूर्ति प्रणाली विकास गर्ने लक्ष्य राखेको छ।

आयोजनाअन्तर्गत भारत सरकारको सहयोगमा पाइपलाइन निर्माण हुनेछ भने चितवनको लोथरमा अत्याधुनिक ग्रिनफिल्ड पेट्रोलियम भण्डारण टर्मिनल नेपाल आयल निगमको लगानीमा निर्माण भइरहेको छ। पाइपलाइन निर्माणमा करिब २ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने भण्डारण टर्मिनल निर्माणका लागि निगमले ६ अर्ब १३ करोड रुपैयाँ लगानी गर्दैछ। यसरी परियोजनाको कुल लागत झण्डै ८ अर्ब ८१ करोड रुपैयाँ पुग्ने आयोजना प्रमुख यादवले जानकारी दिए ।

परियोजना सम्पन्न भएपछि अमलेखगञ्जबाट लोथरसम्म इन्धन सिधै पाइपमार्फत पुग्ने भएकाले ट्यांकरको चाप उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। यसबाट ढुवानी खर्चमा कमी आउनुका साथै इन्धन चुहावट, सडक दुर्घटना तथा आपूर्ति अवरोधको जोखिमसमेत न्यून हुने विश्वास आयोजना पक्षको छ। दीर्घकालीन रूपमा यसले देशको पेट्रोलियम भण्डारण क्षमता विस्तार र आपूर्ति व्यवस्थापनलाई थप व्यवस्थित बनाउने बताइएको छ।

पाइपलाइनको मार्ग बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ र २२, मकवानपुरको हेटौंडा उपमहानगरपालिका तथा मनहरी गाउँपालिका, र चितवनको राप्ती नगरपालिका हुँदै जाने भएकाले ती क्षेत्रका बासिन्दालाई प्रत्यक्ष प्रभाव पर्नेछ। त्यसैले आयोजना अघि बढाउनुअघि सार्वजनिक सुनुवाइमार्फत स्थानीयको धारणा संकलन गरिएको छ।

सुनुवाइमा सहभागी स्थानीयले खानेपानी र सिँचाइका स्रोतको संरक्षण, ग्रामीण सडकको मर्मत, वातावरणीय प्रभाव न्यूनीकरण, उचित क्षतिपूर्ति, स्थानीयलाई रोजगारीमा प्राथमिकता तथा निर्माण अवधिमा जनजीवनमा न्यूनतम असर पर्ने सुनिश्चितता गर्नुपर्ने माग राखेका छन्।

नेपाल आयल निगमले भने परियोजना वातावरणीय मापदण्ड र अन्तर्राष्ट्रिय सुरक्षा प्रोटोकलअनुसार कार्यान्वयन गरिने जनाएको छ। प्रभावित स्थानीय तह, सरोकारवाला निकाय र समुदायसँग निरन्तर समन्वय गर्दै निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने तयारी रहेको निगमको भनाइ छ।

यसअघि सफलतापूर्वक सञ्चालनमा आएको मोतीहारी–अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको निरन्तरताका रूपमा हेरिएको यो आयोजना सम्पन्न भएपछि मधेश र बागमती प्रदेशमा इन्धन भण्डारण तथा वितरण प्रणाली अझ प्रभावकारी र भरपर्दो बन्ने अपेक्षा गरिएको छ।

टिप्पणी
सम्बंधित खबर
ताजा खबर