LIVE NEWS

विश्व स्तनपान सप्ताह आजदेखि, दुई वर्षसम्म स्तनपान गराउने आमाहरूको संख्या ५० प्रतिशत पुग्यो

हरेक वर्ष अगष्टको पहिलो हप्तामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि शुरु भएको छ । यस वर्ष ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ’ नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ ।

अभियानले स्तनपान प्रवर्द्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीतिमार्फत सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा आजदेखि एक हप्तासम्म बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपायमध्ये एक हो ।  यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बिभिन्न अध्ययनहरुले पुष्टि गरेको छ । स्तनपानले आमाको स्वास्थ्यमा पनि महत्वपूर्ण लाभ पुर्‍याउने डब्ल्युएचओले जनाएको छ ।

नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर र ‘टाइप–२’ मधुमेहजस्ता नसर्ने रोगको जोखिम घटाउन सहयोग पुग्ने उल्लेख गरिएको छ । सन् २०१२ मा करिब ३७ प्रतिशत रहेको जन्मदेखि छ महिनासम्मको पूर्ण स्तनपानको दर अहिले सुधार भई ४७ प्रतिशतभन्दा माथि पुगेको छ ।

त्यसैगरी, नेपालमा दुई वर्षसम्म स्तनपान गराउने आमाहरूको संख्या ५० प्रतिशत पुगेको छ । दुई वर्षसम्म स्तनपान गराइने आमाको संख्या पछिल्ला पाँच वर्षमा ३८ प्रतिशतबाट बढेर ५० प्रतिशत पुगेको हो । यी उपलब्धिले आमा र परिवारलाई लक्षित नीति तथा कार्यक्रममा गरिएको लगानी प्रभावकारी भएको देखाएको डब्ल्युएचओ र युनिसेफले जनाएका छन् ।

टिप्पणी
सम्बंधित खबर
ताजा खबर