LIVE NEWS

मधेशको तनाव सामान्य बनाउन गृहमन्त्री गुरुङले जनकपुरमा थाले वार्ता

१६ साउन,वीरगञ्ज ।  मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थालाई सामान्य बनाउन गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत पक्षसँग वार्ता थालेका छन् ।

शनिबार धनुषाको जनकपुर पुगेका गृहमन्त्री गुरुङले आन्दोलनकारी पक्षका प्रतिनिधिहरूसँग छलफल सुरु गरेका हुन् ।

गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा दुई युवकको मृत्यु भएपछि तराईका विभिन्न जिल्लामा प्रदर्शन र आन्दोलन चर्किएको थियो ।

त्यसैक्रममा सिरहामा दुई समूहबीचको विवाद उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक युवकको मृत्यु भएको थियो ।

आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीको अनुगमन र शान्ति स्थापनाका लागि गृहमन्त्री गुरुङ मधेशका विभिन्न जिल्लामा पुगेका हुन् । वार्ताका माध्यमबाट केही स्थानको अवस्था क्रमशः सामान्य बन्दै गएको सरकारी पक्षले जनाएको छ ।

प्रशासनले केही जिल्लाबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा भने पूर्ण रूपमा हटाइएको छैन ।

सरकारले संवाद र वार्तामार्फत सामाजिक सद्भाव कायम गर्दै समस्याको समाधान खोज्ने प्रयास गरिरहेको जनाएको छ ।

टिप्पणी
सम्बंधित खबर
ताजा खबर