LIVE NEWS

सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा मधेसका पाँच जिल्लाबाट ३६ जना पक्राउ

वीरगञ्ज । नेपाल प्रहरीले मधेस प्रदेशका पाँच जिल्लाबाट सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा ३६ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिराहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सा जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीद्वारा सार्वजनिक तथ्यांकअनुसार सबैभन्दा बढी धनुषा जिल्लाबाट १९ जना पक्राउ परेका छन् । त्यसैगरी सर्लाहीबाट ९ जना, सिराहाबाट ५ जना, महोत्तरीबाट २ जना र पर्साबाट १ जना पक्राउ परेका छन् ।

शुक्रवार पर्साको वीरगञ्ज महानगरपालिका–६ मिनाबजार नजिकबाट एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूले सामाजिक सद्भाव बिगार्ने खालका गतिविधि तथा अभिव्यक्ति दिएको आरोप रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने, समुदायबिच द्वन्द्व सिर्जना गर्ने अभिव्यक्ति दिने तथा स्थानीय रूपमा तनाव उत्पन्न गराउने गतिविधिमा संलग्न रहेको आशङ्कामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकामाथि विद्युतीय कारोबार ऐन, सार्वजनिक शान्ति विरुद्धको कसुर वा अन्य प्रचलित कानुनअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने तथा भडकाउ सामग्री प्रसारण गर्ने गतिविधि बढिरहेको भन्दै प्रहरीले सर्वसाधारणलाई जिम्मेवार ढङ्गले सूचना आदानप्रदान गर्न आग्रह गरेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा असर पुग्ने खालका गतिविधि नगर्न तथा यस्ता सामग्री देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत अनुरोध गरिएको छ ।

स्थानीय प्रशासनले पनि शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जनाउँदै सर्वसाधारणलाई अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अपिल गरेको छ ।

टिप्पणी
सम्बंधित खबर
ताजा खबर