LIVE NEWS

सिमरा सेजमा ४५ करोडका भवन उपयोगविहीन, एकीकृत सेवाको लक्ष्य अधुरै

जीतपुर । सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना र उत्पादन विस्तारले गति लिइरहे पनि उद्योगलाई सहज सेवा दिने उद्देश्यले निर्माण गरिएका पूर्वाधार भने उपयोगविहीन बनेका छन्। करिब ४५ करोड रुपैयाँ खर्चेर निर्माण गरिएका सेवामूलक भवन वर्षौंदेखि खाली रहँदा सरकारी लगानीको प्रभावकारितामाथि नै प्रश्न उठ्न थालेको छ।

विशेष आर्थिक क्षेत्रको ब्लक ‘ए’ भित्र उद्योगीले एउटै परिसरबाट बैंकिङ, भन्सार, बीमा, हुलाक, स्वास्थ्य सेवा र बाल हेरचाहलगायत सुविधा पाउने अवधारणासहित प्रशासनिक भवनसहित सात वटा संरचना निर्माण गरिएको थियो। तर सम्बन्धित निकाय र निजी सेवा प्रदायक संस्थाको उदासीनताका कारण ती भवन अझै सञ्चालनमा आउन सकेका छैनन्।

भवन प्रयोगमा नआउँदा कतिपय संरचनाका झ्याल–ढोका बिग्रिन थालेका छन्। वरपर झाडी बढ्दै गएको छ भने नियमित मर्मत–सम्भार नहुँदा करोडौंको सार्वजनिक सम्पत्ति क्रमशः जीर्ण बन्दै गएको देखिन्छ।

सिमरा सेजका फिल्ड प्रमुख अजय चौधरीका अनुसार सेवा सञ्चालनका लागि प्राधिकरणले दुई वर्षअघि नै प्रस्ताव आह्वान गरेको थियो। केही बैंक तथा वित्तीय संस्थाले भवनको अवलोकन गरे पनि आवश्यकताभन्दा भवनको आकार ठूलो रहेको कारण देखाउँदै सञ्चालनमा आउन अस्वीकार गरेका थिए।

त्यसपछि प्राधिकरणले आफ्नो कार्यविधिमा लचकता अपनाउँदै सेजभित्र सञ्चालनमा रहेका तथा निर्माणाधीन उद्योगलाई कार्यालय प्रयोजनका लागि ती भवन उपलब्ध गराउने निर्णय गरेको थियो। तर उद्योगीहरूले समेत हालसम्म भवन उपयोगका लागि कुनै ठोस चासो नदेखाएको चौधरीले बताए।

यद्यपि प्रशासनिक भवन भने आगामी साउनको अन्तिम सातादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ। प्रशासनिक सेवा सुरु भएपछि अन्य सेवामूलक भवन सञ्चालनको वातावरण पनि बन्ने अपेक्षा गरिएको छ।

हाल सिमरा सेजको ब्लक ‘ए’ मा निर्माणका लागि स्वीकृत २२ उद्योगमध्ये ६ उद्योगले उत्पादन सुरु गरिसकेका छन्। थप १० उद्योग अन्तिम चरणको निर्माणमा छन् भने बाँकी ६ उद्योग पूर्वाधार निर्माणको तयारीमा रहेका छन्। उद्योगको संख्या बढ्दै गए पनि आवश्यक बैंकिङ, भन्सार, बीमा, स्वास्थ्य तथा अन्य सहायक सेवा सञ्चालन नहुँदा उद्योगीहरूलाई बाहिरका कार्यालय धाउनुपर्ने बाध्यता कायमै छ।

विशेष आर्थिक क्षेत्रको मूल अवधारणा उद्योगलाई आवश्यक सम्पूर्ण सेवा एउटै परिसरभित्र उपलब्ध गराउने हो। तर उद्योग सञ्चालनले गति लिइसकेको अवस्थामा समेत सेवामूलक पूर्वाधार निष्क्रिय रहनु सेज व्यवस्थापनको कमजोर कार्यान्वयनका रूपमा हेरिएको छ।

उद्योगमैत्री वातावरण निर्माण गर्ने सरकारी प्रतिबद्धता व्यवहारमा रूपान्तरण हुन नसक्दा करोडौं रुपैयाँको संरचना अहिले उपयोगभन्दा संरक्षणकै चुनौतीसँग जुधिरहेको छ।

टिप्पणी
सम्बंधित खबर
ताजा खबर