LIVE NEWS

रौतहटमा सर्वदलीय प्रतिबद्धता : धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव जोगाउन संयुक्त पहल

रौतहट । तराई–मधेशसहित विभिन्न जिल्लामा हालै भएका घटनापछि रौतहटका राजनीतिक दलहरूले एकै ठाउँमा उभिँदै जिल्लाको धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्न साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित सर्वदलीय बैठकबाट जारी गरिएको निर्णयमा सिराहा, सुनसरी, धनुषालगायत अन्य जिल्लामा भएका घटनाको प्रभाव रौतहटमा पर्न नदिने तथा कुनै पनि धार्मिक वा साम्प्रदायिक विवाद र उच्छृङ्खल गतिविधिलाई प्रश्रय नदिने स्पष्ट अडान लिइएको छ।

बैठकमा सहभागी राजनीतिक दलहरूले रौतहटमा परम्परादेखि कायम रहेको धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भावलाई थप सुदृढ बनाउँदै लैजान आ–आफ्नो तर्फबाट पूर्ण सहयोग र प्रतिबद्धता जनाएका छन्।

सर्वदलीय बैठकले जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सबै राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय तह, धार्मिक अगुवा, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, उद्योगी–व्यवसायी तथा नागरिक समाजलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

त्यसैगरी, सबै पक्षले आ–आफ्नो क्षेत्रबाट नागरिकलाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकता कायम राख्न प्रेरित गर्ने निर्णयसमेत गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार सर्वदलीय बैठकले रौतहटलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुताको नमुना जिल्ला बनाउने लक्ष्यसहित सबै सरोकारवाला पक्षले संयुक्त रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

बैठकमा सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा, सञ्चारकर्मी तथा अन्य सरोकारवाला पक्षहरूको सहभागिता रहेको थियो। सर्वदलीय बैठकले शान्ति, सद्भाव र सामाजिक एकतालाई कायम राख्दै कुनै पनि अफवाह वा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सम्पूर्ण जिल्लावासीलाई आग्रह गरेको छ।

टिप्पणी
सम्बंधित खबर
ताजा खबर