LIVE NEWS

रोक्न खोजेको युद्ध झन् उग्र : अमेरिकी अखडामा इरानको कडा प्रतिशोध

मध्यपूर्वमा जारी युद्धले फेरि उग्र रूप लिएको छ। अमेरिकी हवाई हमलापछि इरानले अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाउँदै ठुलो मात्रामा प्रतिशोधात्मक हवाई आक्रमण शुरू गरेको छ। इरानले सेनाको एउटा हेलिकप्टर खसालेपछि अमेरिकाले हवाई हमला गरेको थियो । त्यसपछि इरानले अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाएको हो । ताजा सैन्य टकरावले केही महिनादेखि जारी युद्ध रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक प्रयासलाई ठुलो धक्का पुर्‍याएको छ।

बुधबार बिहानै कुवेतमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू गुन्जिएका छन् । कुवेती सेनाले आफ्नो हवाई रक्षा प्रणाली सक्रिय भएको र शत्रुतापूर्ण आकाशीय लक्ष्यहरूलाई सफलतापूर्वक इन्टरसेप्ट गरिरहेको जनाएको छ। सेनाले आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा जान र आधिकारिक निर्देशनहरू पालना गर्न अपिल गरेको छ। इरानी सञ्चारमाध्यमका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले कुवेतको ‘अली अल सालेम’ सैन्य बेसलाई ड्रोनमार्फत निशाना बनाएको छ।
यसैगरी, बहराइनको गृह मन्त्रालयले पनि सामाजिक सञ्जाल एक्समार्फत साइरन बजाइएको पुष्टि गर्दै नागरिकहरूलाई शान्त रहन र नजिकैको सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। इरानको आईआरजीसीले बहराइनमा तैनाथ अमेरिकी नौसेनाको ‘पाँचौँ बेडा’माथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

इरानले जोर्डनमा रहेको र अमेरिकी सेना बस्ने ‘अल अज्राक’ सैन्य बेसमा पनि लामो दूरीको सोलिड-फ्युल मिसाइल प्रहार गरेको दाबी गरेको छ। जोर्डनमा भने साइरन बजेको कुनै रिपोर्ट आएको छैन। यसअघि मार्च महिनामा जोर्डनमै रहेको अमेरिकी थाड मिसाइल ब्याट्रीको राडार प्रणाली इरानी आक्रमणमा ध्वस्त भएको भूउपग्रह चित्रले देखाएको थियो। सीएनएनको अनुसन्धान अनुसार विगत दुई महिनामा मात्रै इरानी हमलामा परी कम्तीमा १६ वटा अमेरिकी सैन्य अखडाहरू क्षतिग्रस्त भइसकेका छन्।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले इरानको आक्रमणको जवाफमा आत्मरक्षाका लागि हवाई हमलाहरू सम्पन्न गरेको जनाएको छ। अमेरिकी वायुसेना र नौसेनाका फाइटर जेटहरूले हर्मोज जलमार्ग नजिक रहेका इरानी हवाई रक्षा प्रणाली, ग्राउन्ड कन्ट्रोल स्टेशन र निगरानी राडार साइटहरूमा सटीक मिसाइल प्रहार गरेका छन् । अमेरिकाले यसलाई इरानी उक्साहटको ‘समानुपातिक जवाफ’ भनेको छ। इरानका अनुसार अमेरिकी हमलाबाट सिरीक र जास्क क्षेत्रमा सञ्चार टावर र खानेपानीका ट्याङ्कीहरू नष्ट भएका छन्। इरानका विदेशमन्त्रीले अमेरिकालाई तत्काल ‘मध्यपूर्व छोड्न’ चेतावनी दिएका छन्।

तर, कूटनीतिज्ञहरू पछिल्लो भिडन्त युद्ध बढाउन नभई तनाव कम गर्ने प्रयास हुन सक्ने टिप्पणी गर्छन्। अमेरिकाले आफ्नो हेलिकप्टर खसालिनु स्वीकार्य छैन भन्ने सन्देश दिन यो हमला गरेको र इरानले पनि आफ्नो अप्रेशन सकिएको घोषणा गर्ने शैलीमै जवाफ फर्काएकाले अब कूटनीतितर्फ बाटो खुल्न सक्ने उनीहरूको तर्क छ ।

मध्यपूर्वको यो तनावले विश्व सेयर बजार र कमोडिटी बजारलाई नराम्ररी प्रभावित पारेको छ। जापानको निक्केई सूचक ०.९ प्रतिशत र दक्षिण कोरियाको कोस्पी २ प्रतिशतले ओरालो लागेका छन्। कच्चा तेलको मूल्य भने करिब १ प्रतिशतले बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड प्रतिब्यारेल ९२.२९ डलर र अमेरिकी डब्ल्यूटीआई क्रुड प्रतिब्यारेल ८८.९७ डलर पुगेको छ। बजार विश्लेषकहरूका अनुसार यदि तेलका पूर्वाधार वा ढुवानी मार्गमा थप क्षति पुगेमा मूल्य अझै आकासिन सक्छ।

टिप्पणी
सम्बंधित खबर
ताजा खबर