LIVE NEWS

वसन्त ऋतुको हिमाल आरोहण मैझारो : एक अर्ब २६ करोड राजश्व सङ्कलन

काठमाण्डौ – सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो अर्थात् सम्पन्न भएको छ ।

सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ । त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले अनुमति दिँदै आएको छ ।

यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका एक सय ५९, अमेरिकाका एक सय ५२, भारतका एक सय एक, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्यान्डका ३२, फ्रान्सका २७ जना रहेका थिए ।  पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमका अनुसार यस वर्ष सगरमाथामा सबैभन्दा धेरै १०९ जना छिमेकी चीनका आरोही पुगेका छन् । यसबाहेक अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अस्ट्रेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२, आयरल्यान्डका ११ आरोही पुगेका छन् ।

यस वर्ष सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर कामिरीता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, महिला आरोहीमा सङ्खुवासभा मकालुकी लाक्पा शेर्पाले ११ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ । कामिरीता र लाक्पाले आफ्नै रेकर्ड तोड्नुभएको हो ।

सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै एक खर्ब आठ करोड १० लाख ७२५  राजश्व सङ्कलन गरेको छ । यस्तै, लोत्से हिमालबाट छ करोड ६८ लाख ७१ हजार ९९०, मकालु पहिलोबाट तीन करोड १७ लाख ८५ हजार ८००, आमादब्लमबाट एक करोड ६६ लाख नौ हजार २००, कञ्चनजङ्गाबाट एक करोड ६५ लाख ४० हजार ५००, अन्नपूर्ण पहिलोबाट एक करोड २० लाख ४९ हजार १७५  राजश्व सङ्कलन भएको छ ।

यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिएबापत सरकारले एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६  राजश्व सङ्कलन गरेको छ ।

टिप्पणी
सम्बंधित खबर
ताजा खबर