LIVE NEWS

होर्मुजमा अमेरिकी नाकाबन्दी प्रत्युदपादक हुन सक्छ ट्रम्पलाई साउदीको चेतावनी

इरानसँगको युद्धबीच अमेरिकाले सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागु गरेको छ । यसको उद्देश्य इरानमाथि थप आर्थिक दबाब सिर्जना गर्नु भए पनि साउदी अरबले यो कदम प्रत्युदपादक हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेको वाल स्ट्रिट जर्नलको रिपोर्टले उल्लेख गरेको छ ।

समाचारका अनुसार, होर्मुज जलमार्गमा अमेरिकाले लगाएको नाकाबन्दीले उसकै सहयोगी राष्ट्रहरू साउदी अरब र कतारलाई दीर्घकालमा नोक्सान पुर्‍याउन सक्ने विश्लेषण गरिएको छ ।

यही कारण साउदी अरबले अमेरिकालाई इरानी बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी हटाउन र पुनः वार्ताको टेबुलमा फर्कन आग्रह गरिरहेको छ ।

अमेरिकाको यो कदमले इरानलाई थप उत्तेजित पार्न सक्ने र प्रतिक्रियास्वरूप इरानले अर्को महत्त्वपूर्ण सामुद्रिक मार्ग बन्द गर्न सक्ने चेतावनी दिइएको छ । जसले तेल निर्यातमा गम्भीर असर पार्ने साउदी पक्षको चिन्ता छ ।

वाल स्ट्रिट जर्नलका अनुसार, साउदी अरबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले इरान भड्किन सक्ने र बाब अल–मन्देब जलमार्ग बन्द हुन सक्ने भन्दै अमेरिकालाई सचेत गराएको छ । यो लाल सागरको एक साँघुरो मार्ग हो र हाल साउदी अरबको तेल निर्यातको मुख्य ‘लाइफलाइन’ मानिन्छ ।

होर्मुज अवरुद्ध भएपछि साउदी अरबले आफ्नो तेल निर्यात कायम राख्न मरुभूमि हुँदै पाइपलाइनमार्फत लाल सागरको यान्बु टर्मिनलसम्म तेल पुर्‍याएको थियो । हाल साउदीले दैनिक करिब ७० लाख ब्यारेल तेल निर्यात गरिरहेको छ, जुन युद्धअघिकै स्तर हो । तर, यदि बाब अल–मन्देब मार्ग पनि बन्द भए यो वैकल्पिक मार्ग समेत अवरुद्ध हुने जोखिम रहेको उल्लेख छ ।

बाब अल–मन्देब आसपासको तटीय क्षेत्र हुथी विद्रोहीहरूको प्रभावमा रहेको छ । गाजा युद्धका क्रममा उनीहरूले यस मार्गमा अवरोध सिर्जना गरेका थिए, र अहिले इरानले उनीहरूलाई पुनः सक्रिय गराउन दबाब दिइरहेको बताइएको छ ।

इरानको अर्ध–सरकारी तस्निम समाचार एजेन्सीका अनुसार, अमेरिकी नाकाबन्दीले इरानलाई लाल सागर मार्ग बन्द गर्न बाध्य पार्न सक्छ । इरानका सर्वोच्च नेताका सल्लाहकार अली अकबर वेलायतीले भनेका छन्, “बाब अल–मन्देब हाम्रो लागि होर्मुज जत्तिकै महत्त्वपूर्ण छ ।”

युद्धले सबैको अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने भन्दै साउदी अरब, यूएई र कतार जस्ता खाडी देशहरू लामो समयदेखि इरानसँगको प्रत्यक्ष टकराव टार्न प्रयासरत थिए ।

हाल कतार र साउदी अरबका विदेशमन्त्रीहरूले क्षेत्रीय समन्वय बलियो बनाउने र तनाव घटाउने उपायबारे छलफल तीव्र पारेका छन् ।

अर्कोतर्फ, ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले भनिन्, “राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्ग पूर्ण रूपमा खुला रहनुपर्ने स्पष्ट पार्नुभएको छ, ताकि ऊर्जाको प्रवाह अवरुद्ध नहोस् । हामी हाम्रा खाडी सहयोगीहरूसँग निरन्तर सम्पर्कमा छौँ ।”

टिप्पणी
सम्बंधित खबर
ताजा खबर