LIVE NEWS

६ लेन सडकका बिग्रिएका डिभाइडर हटाउन वा मर्मत गर्न उद्योग वाणिज्य संघको माग

जीतपुर । बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले ६ लेन सडकको बीच भागमा रहेका बिग्रिएका डिभाइडर मर्मत गर्न वा व्यवस्थापन सम्भव नभए हटाउन माग गरेको छ। संघले यस सम्बन्धमा जीतपुरसिमरा उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र पठाएको हो।

संघका महासचिव प्रकाश गिरीले उपमहानगरपालिकाका प्रमुखलाई पठाएको पत्रमा ६ लेन मुख्य सडकको बीचमा निर्माण गरिएका डिभाइडरहरू धेरै स्थानमा भाँचिएको, अव्यवस्थित र जीर्ण अवस्थामा रहेको उल्लेख गरिएको छ। डिभाइडरमा जडान गरिएका रेलिङ तथा अन्य संरचनाहरू क्षतिग्रस्त हुँदा सडक क्षेत्रको सौन्दर्यमा नकारात्मक असर परेको र शहरको समग्र स्वरूप समेत राम्रो नदेखिएको संघले जनाएको छ।

पत्रमा डिभाइडरमा रोपिएका बिरुवाहरू पनि उचित हेरचाह र व्यवस्थापनको अभावमा राम्रोसँग बढ्न नसकेको उल्लेख गरिएको छ। धेरै बिरुवाहरू सुक्ने वा नष्ट हुने अवस्थामा पुगेका कारण सडकलाई हरियाली बनाउने उद्देश्यसमेत पूरा हुन नसकेको संघको भनाइ छ।

संघका अनुसार भाँचिएका रेलिङ तथा डिभाइडरका कारण सडक वरिपरि फोहोर थुप्रिने, दुर्घटनाको जोखिम बढ्ने तथा वातावरण अव्यवस्थित देखिने समस्या समेत बढ्दै गएको छ। यसले यहाँ आउने आगन्तुक तथा स्थानीय बासिन्दामा शहरप्रति नकारात्मक धारणा बन्ने सम्भावना रहेको पनि पत्रमा उल्लेख गरिएको छ।

यस अवस्थालाई ध्यानमा राख्दै संघले सम्बन्धित निकायमार्फत ६ लेन सडकको बीच भागमा रहेका डिभाइडरहरू आवश्यक मर्मत–सम्भार गरी व्यवस्थित बनाउन वा व्यवस्थापन सम्भव नभए हटाई सडक क्षेत्रलाई सफा, सुरक्षित तथा आकर्षक बनाउन पहल गर्न आग्रह गरेको छ। संघले सम्बन्धित निकायले यस विषयमा शीघ्र आवश्यक कदम चाल्ने विश्वास व्यक्त गरेको छ।

टिप्पणी
सम्बंधित खबर
ताजा खबर